म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध-Sutra News

म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

अमेरिका- अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।



यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन् ।

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साताभित्र गरिसक्ने पनि बाइडनले बताएका छन् । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चाल्न लागिएको जनाइएको छ ।

‘कू’ पछि म्यानमारमा सैनिक सत्ताविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । तर, प्रदर्शनकारीलाई सैनिकले दमन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरिरहेका छन् ।मंगलबार गोली लागेर घाइते भएकी एक महिलाको राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ ।

म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सूचीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट