काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।
केही दिन अघि गोरखामा उनले राष्ट्रपतिविरुद्ध अनर्गल प्रचार गरेको भन्दै प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपतिको संस्थाविरुद्ध बोलेकोले उनलाई सोधपुछका लागि बोलाएको जानकारी दिए ।
गोरखामा झाँक्रीको भनाइ
राष्ट्रपतिका कुरा त के गर्ने । बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै ।
म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु । निर्वाचनको तयारीका लागि सुख सुविधा छोडेर, कारगेड छोडेर, शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस् ।
चावहिल कि कोटेश्वर कतातिर बसाइ छ भन्ने सुन्याथेँ । होइन भने बालकोटै गए पनि हुन्छ । र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं । तपाईंका लागि म पनि भारी हुन सक्छु ।
त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्दे दृष्टि लाएर एउटा खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्विकार्य हुन सक्दैन ।
यो नेकपा एमालेले ५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् यहाँ तमाम महिला दिदीबहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन ।
मदन भण्डारीको हत्यापछि सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने जुन गलत संस्कृतिको सुरुवात गरेको थियो नेकपा एमालेले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी । आज यो संविधानको चीर हरण गर्ने कारण बनेको छ ।