काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई बिहीबार उनको निवास शंखमुलबाटै पक्राउ गरेको हो ।
केही दिनअघि गोरखामा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्तिका कारण झाँक्री पक्राउ परेकी हुन् ।
झाँक्री निवासमा ठूलो संख्यामा नेकपाका कार्यकर्ता उपस्थित भएका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिविरुद्ध नारावाजी लगाएका थिए ।
प्रहरीले कार्यकर्तामाथि लाठीचार्ज पनि गरेको थियो । केही कार्यकर्ता घाइतेसमेत भएका छन् ।
प्रहरी पनि ठूलो संख्यामा उपस्थित थिए ।
कानुनमा के छ ?
झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्दैछ ।
झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।
धारा ५७ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ ।
सो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।