काठमाडौं- नेपाली कांग्रेसका नेता तथा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्रनु अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हुनुका साथै राज्यको अक्षम्य र निन्दनीय व्यवहार भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष बस्नेतले नेतृ झाँक्रीलाई बोलेकै आधारमा प्रहरीले पक्राउ गर्नुले कानुनी शासन र अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन भएको उल्लेख गरेका छन् ।
नेतृ झाक्रीलाई राज्यविरुद्धको अपराधको अभियोगमा प्रहरीले बिहीबार उनकै शंखमूलस्थित निवासबाट पक्राउ गरेको हो ।
उनले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको प्रहरीले दाबी गरेको छ ।
उनलाई अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरी मीनभवनस्थित कार्यालयमा राखेको छ ।