काठमाडौं- नेपाली कांग्रेसले भागरथी भट्टको हत्याको अनुसन्धान तीव्र बनाएर दोषीलाई अबिलम्ब पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
बैतडीको दोगडाकेदारकी किशोरी भट्टको घटनाका दोषी पत्ता लगाउन ढिलाइ भएको भन्दै विभिन्न संघसंस्था तथा मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका छन् । सरकार उक्त घटनाको अनुसन्धानमा लागे पनि दोषी पत्ता लगाउन भने सकेको छैन ।
सरकारको ध्यानाकर्षण गराउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन भनेका छन् ।
‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ । अतः अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्षयता डरलाग्दो ढंगले बढेकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने गृहमन्त्री रामबहादुर थापाको गैरजिम्मेवार भनाइले कानूनी चेतावनीको भाषालाई कमजोर बनाएको बताएको छ ।
महिला हिंसा बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष माग गर्दै कांग्रेसले यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपील पनि गरेको छ ।
बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज साँझ बैतडी गएका छन् ।