काठमाडौं- नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सिर्जना भएको बताएका छन् ।
जनयुद्ध दिवसको अवसरमा शनिबार काठमाडौंमा ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौं शहीदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताएका हुन् ।
‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौं शहीदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरूले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्त्व नेपालको इतिहासमा रहिरहनेछ भन्ने म ठान्छु । र, यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरूको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध शुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए ।
युद्धकालीन समयमा योगदान पु-याएका व्यक्तिका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित भए पनि सरकारका तर्फबाट वैज्ञानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरिको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए । अध्यक्ष प्रचण्डले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफूले लिएको बताए ।