काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
ओखलढंगामा आयोजित नेकपाको सभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने बताएका हुन् ।
‘गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव भएन । आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।
उनले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए ।
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखलढुंगासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताए।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–माधव समूहलाई प्राइभेट कम्पनीको संज्ञा दिए ।