काठमाडौं- देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको हो ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैबिच पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।