काठमाडौं- कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो ।
कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए ।
नेपाल महिला संघका महासचिव एवम् पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।
भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसंघले निरन्तर खबरदारी गर्ने संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
पद्मकन्या क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।