काठमाडौं- रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६-१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।
एकतर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् । यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।
आइतबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आर्मीका लागि रश्मीले १० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको तीन मिनेटमा विमलाले गोल थप्दा आर्मीले ३-० को अग्रता लिन सफल भयो ।
पहिलो हाफको इन्जुरी चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै आर्मीको अन्तर घटाउने प्रयास गरिन् । पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्दै थप तीन गोल गर्न सफल भयो ।
५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो । ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६-१ को जित निश्चित गरिन् ।
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी शीर्ष स्थानको एपीएफभन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेल एपीएफ र नेपाल पुलिस तथा दोस्रो खेल वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।