काठमाडौं- नेपाल पत्रकार महासंघले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् ।
महासंघको उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक संघीयतामा गएसँगै आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि संगठनमा उठाइएको प्रत्यक्ष निर्वाचनको मुद्धा सम्बोधन भएको बताए ।
महासंघका केन्द्रको वार्षिक साधारणसभा भने यही फागुन ४ र ५ गते हुँदैछ । अध्यक्ष आचार्यले समानुपातिक विज्ञापन, सञ्चार क्षेत्रलाई सामाजिक उद्योगको मान्यता, श्रमजीवी पत्रकारको हक अधिकार थप स्थापित गर्न सफल भइएको बताए ।
सो अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा काठमाडौं शाखाका संस्थापक सभापति किशोर नेपाल, भक्तपुरका रमेश खड्का र ललितपुरका प्रभुनारायण बस्नेतलाई सम्मान गरियो ।
महासंघका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कसैले हनन् गर्न नहुने र यसको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताए । महासंघका सचिव रामप्रसाद दाहालले कोरोना महामारीका विभिन्न सञ्चार गृहमा समस्यामा पारिएका करीव ५०० श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन गरी समाधान गराइएको बताए ।
सो प्रदेश कमिटीले दिवंगत पत्रकार गोविन्द शर्मा घिमिरेका छोरी श्रेया घिमिरेलाई छात्रवृत्तिस्वरुप रु २० हजारको चेक पनि आज हस्तान्तरण गरेको छ । प्रदेश कमिटीका अध्यक्ष एनके दाहालले आफ्नो पहलमा ११९ जना पत्रकारको कोरोना बीमा गराइएकामा संक्रमितमध्येले बीमा रकम पाउन थालेको जानकारी दिए ।
महासंघको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुंगानाले प्रदेश संरचना बनाइए पनि महासंघ केन्द्रले आफूहरुले सांगठनिक तथा आर्थिक अधिकार उपयोग गर्न नपाएको गुनासो गरे । महासंघको काठमाडौं शाखाका अध्यक्ष शान्तराम विडारीले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमका हकहितका लागि आफूहरुले कार्य गर्दै आएको बताए ।