चितवन- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे ।
उनले भने, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।
विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएको परिवारजनले जनाएको छ ।