काठमाडौं- देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण देशका पहाडीसहितका क्षेत्रको मौसम बदली भएको हो ।
अहिले प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनेछ ।
यसैबिच प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू/भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउने हुँदा यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।