म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षसम्म जेल सजाय गर्ने चेतावनी-Sutra News

म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षसम्म जेल सजाय गर्ने चेतावनी

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं– विरुद्ध प्रदर्शन गरेर सशस्त्र बलमाथि अवरोध गर्नेलाई २० वर्षसम्म जेल सजाय गर्ने चेतावनी सेनाले दिएको छ ।



सेनाले आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा सुरक्षा निकायको काम कारबाहीमा अवरोध गरेमा २० वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो ।

म्यानमारमा सैनिक ‘कू’ विरुद्ध पछिल्ला दिनमा हजारौंले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सूचीको रिहाइ तथा प्रजातन्त्र पुर्नबहालीको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

सूचीका वकिलले उनलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिएका थिए । उनीमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ।

सैन्य नेतृत्वप्रति ‘घृणा वा अवहेलना’ फैलाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना गर्ने सेनाले जनाएको छ।

म्यानमारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा परिवर्तनको घोषणा गरिएको हो ।

म्यानमारमा लगातार इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । सेनाले बोलेर, लेखेर वा सांकेतिकसहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवाना गर्ने जनाएको छ ।

सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई ‘कू’ का रूपमा व्याख्या नगर्न समेत आग्रह गरिएको छ ।

सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार आफूमा केन्द्रित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट