धनगढी- बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुरुष सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् भने उनको घर दोगडाकेदार गाउँपालिका नै हो । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर आएका थिए ।
यता प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गरिने बताए । उनले भने, ‘हामी हत्याराको नजिक पुगिसकेका छौ । विधिविज्ञान प्रयोगशालामा पठाएको तथ्यको रिपोर्ट पनि आउँदैछ । छिट्टै सार्वजनिक गर्छौ ।’
सिंहले यसै साताभित्र भागरथी प्रकरणमा प्रहरीले सफलता पाउने विश्वास व्यक्त गरे । उनका अनुसार डेढ दर्जन संग्दिध व्यक्तिमाथि प्रहरीले निगरानी राखेको छ ।