काठमाडौं- प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले जानकारी दिदै आफूहरु अनुसन्धानमै रहेको र आज मुख्य आरोपी सार्वजनिक गर्ने बताएका हुन् । उनले पक्राउ परेका ब्यक्तिका बिषयमा धेरै खुलाउन चाहेनन् ।
‘हामी अहिले अनुसन्धान गरिरहेका छौं, करिब-करिब अनुसन्धान निचोडमा पुगेको छ,’ बैतडीमै रहेका डीआइजी सुवेदीले भने ‘हामी आरोपी सार्वजनिक गर्दैछौं ।’
अनुसन्धान अधिकारीहरुका अनुसार घटनामा संलग्न व्यक्ति भागरथीकै विद्यालयमा अध्यनरत उनीभन्दा कनिष्ठ छात्र हुन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।
२१ माघ २०७७ मा विद्यालयबाट घर फर्कर्दै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।
अधिकारीहरुका अनुसार पक्राउ परेका आरोपीले संलग्नता स्वीकारगर्नुका साथै प्रहरीले उनको संलग्नता पुष्टिगर्ने प्रमाण समेत जुटाएको छ ।
प्रहरी प्राविधिक अनुसन्धानमा भट्टको समेत संलग्नताका आधार भेटिएपछि प्रहरीले उनीसँग सोधपुछ गरेर छाडेको थियो । तर, डीआइजी सुवेदीको निर्देशनमा उनको गोप्यरुपमा निरन्तर निगरानी समेत भइरहेको थियो ।