प्रहरीमा सइको बढुवा जाम : नियमावली संशोधनको तयारी-Sutra News

प्रहरीमा सइको बढुवा जाम : नियमावली संशोधनको तयारी

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

काठमाडौं- नेपाल प्रहरीका नायब निरीक्षक (सइ) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवामा समस्या भएपछि प्रहरी नियमावली संशोधन प्रक्रिया अघि बढाइएको छ । रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पूर्ति गर्ने प्रस्तावसहित नियमावली संशोधन प्रस्ताव अघि बढाउन लागिएको हो ।



प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव गृह मन्त्रालय पठाइसकेको छ । हाल रिक्त पदमध्ये ४० प्रतिशतमा बढुवा र ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट भर्ना लिने गरिएको छ । यसै कारण प्रहरीका जुनियर अधिकृतको बढुवा जाममा परेको छ । यो समस्या समाधान गर्न संशोधन गर्न लागिएको हो । गृह मन्त्रालयले लोकसेवा आयोगको राय लिएर नियमावली संशोधन प्रक्रिया अघि बढाउन लागेको बताइएको छ ।

नेपाल प्रहरीमा पाँच वर्षअघि रिक्त पदमध्ये ६० प्रतिशत बढुवाबाट तथा ४० प्रतिशत भर्नाबाट पदपूर्ति गर्ने प्रावधान थियो । इन्सपेक्टरमा धेरै युवा भर्ना गर्ने उद्देश्यले नियमावली संशोधन भएपछि अहिले समस्या भएको हो । नेपाल प्रहरीमा हाल इन्सपेक्टरका मात्रै एक सय पद रिक्त छन् ।

प्रहरीको असइ भर्नामा न्यूनतम शैक्षिक योग्यता १२ कक्षा तोकिएको छ । तर, उनीहरूले सुविधा भने खरिदारसरहको मात्र पाउँछन् । निजामती सेवामा खरिदार पदका लागि एसएसली सरहको न्यूनतम सुविधा तोकिएको छ । नेपाली सेनामा १२ कक्षा पास भएका सेकेन्ड लेफ्टिनेन्ट पदमा भर्ना हुन्छन् ।

प्रहरीमा असइको सुविधा र मर्यादा नासुसरह बनाउन माग गरी रिटसमेत दायर भएको थियो । यस्तो विभेदबारे नेपाल प्रहरीमा छलफल भए पनि सुधारका लागि भने ठोस पहल हुन सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट