हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित-Sutra News

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

ताप्लेजुङ- गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए ।



शेर्पाले भने, ‘शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।’ सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले भने, ‘चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।’ चौँरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताए । हिजोदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उनले जानकारी दिए ।

घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ । यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताए ।

ताप्लेजुङ जिल्ला हिउँले सेत्याम्य भएको छ । ताप्लेजुङमा आजको बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट