भारतमा कोरोनाबाट एघार हजार छ सयभन्दा बढी संक्रमित-Sutra News

भारतमा कोरोनाबाट एघार हजार छ सयभन्दा बढी संक्रमित

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

भारत- भारतमा मंगलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण भएपछि कुल संक्रमितको संख्या सम्म एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।



साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ९१३ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३६ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान सुरु गरेको थियो । देशभर करिब ९० लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।

यसैबीच, मंगलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।

विश्वभर कोभिड–१९ बाट करिब ११ करोड भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ३० हजार व्यक्तिको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा चार लाख ९९ हजार, ब्राजिलमा दुई लाख ४० हजार, मेक्सिकोमा एक लाख ७५ हजार, बेलायतमा एक लाख १८ हजार, इटालीमा ९४ हजार र फ्रान्समा ८२ हजारको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट