कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय-Sutra News

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।



फागुनमा तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।

दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक सुरु भएको थियो । पौडेल पक्षले जेठमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि अन्ततः सभापति शेरबहादुर देउवाको चाहनाअनुसार नै भदौमा महाधिवेश हुने भएको हो ।

कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो । कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले यही फागुन १९ सम्म कार्यकाल बढाएका थिए । उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ ।

संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने बाध्यामत्क व्यवस्थाअनुसार कांग्रेसले त्यो अवधि पनि सकिने अन्तिम म्यादमा महाधिवेशन गर्ने भएको हो ।

यसपटक कांग्रेस शत प्रतिशत क्रियाशिल सदस्यता थप्ने निर्णय गरेको छ । अधिकांश जिल्लाबाट क्रियाशिलको फारम आइपुगे पनि केही जिल्लाबाट आउन बाँकी रहेको छ । त्यसलाई छिटो छानबिन गर्ने निर्णय बैठकले गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट