काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) को नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टोलीले लिएनन् ।
लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा बिकेनन् । अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो ।
मोरिस आइपीएलमा अहिलेसम्मकै सबैभन्दा महंगा खेलाडी बने । यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ ।
उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो । आइपीएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ ।
सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आइपीएलका लागि आबद्ध गरेको थियो । उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए ।