काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।
शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदा स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए ।
उनले भने, ‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ। देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् ।’
निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए ।
उनले भने, ‘हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ ।’
निर्वाचनका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको थपलियाको भनाइ छ । ‘बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडी बढिराखेका छौँ’, उनले भने ।
निर्वाचन कुनैपनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित नभइ र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको पनि उनले बताए । आगामी निर्वाचनलाई मितव्ययी बनाउनको निम्ति आयोग सचेत रहेको उनको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मुल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए ।
उनेले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे ।
निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।