प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाको बहस सकियो, १० गतेसम्म बहस नोट उपलब्ध गराउन आदेश-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाको बहस सकियो, १० गतेसम्म बहस नोट उपलब्ध गराउन आदेश

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि विघटनविरुद्धको बहस सकिएको हो ।



बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म बहस नोट उपलब्ध गराउन आदेश गरेका छन् । तर, निर्णय सुनाउने मिति भने उनले बताएनन् । ‘फैसला जहिले पनि आउन सक्छ, १० गतेभित्र बहस नोट पेस गर्नुस् ।’ जबराले भने ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

पाठकले राय दिने क्रममा संविधान कोमामा भए सबै कोमामा हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘संविधान बिरामी छ, कोमामा छ भन्ने कुरा पनि आयो श्रीमान् । तर, न यो बिरामी छ न यो कोमामा छ । यो बिरामी छ भने हामी पनि बिरामी छौं । किनकि यो हाम्रो लागि अक्सिजन हो ।’

सरकारी वकिलले विघटनको बचाउ गर्ने क्रममा संविधान बिरामी रहेको बताएका थिए । संसद् विघटन सदर गरेर संविधानलाई पुनर्जीवन दिनुपर्ने सरकारी वकिलले तर्क गरेका थिए ।

गत ५ पुस गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट