विराटनगर- नेकपा ओली समूहको प्रदेश १ स्तरीय बृहत् भेला सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आइपुगेका छन् ।
सभाका लागि विराट अस्पताल प्रालि नजिकको मैदानमा कार्यकर्ता पुग्ने क्रम जारी रहेको छ ।
कार्यक्रममा मुख्यतः मोरङ, सुनसरी, तथा झापासँगै अन्य जिल्लाबाट २ लाख कार्यकर्ता उतार्ने नेकपा मोरङले दाबी गरेको छ ।
आमसभामा सहभागिता जनाउनका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस तथा झाँकीसहित कार्यकर्ताहरु मैदानमा उपस्थित हुन थालेका छन् ।
प्रधानमन्त्री ओली आरामका क्रममा होटल एशियाटिकमा रहेका छन् । उनी केही समयपछि कार्यक्रम सम्बोधनका लागि मैदान पुग्ने आयोजक पक्षले जनाएको छ ।
११ बजेबाट निर्धारित कार्यक्रम सुरु गर्ने भनिएसँगै सांस्कृतिक कार्यक्रम भइरहेको छ। प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा तथा नेता सुवासचन्द्र नेम्वाङसमेत विराटनगर आइसकेका छन् ।
प्रधानमन्त्री आजै अपरान्ह काठमाडौं फर्कने कार्यक्रम छ ।