काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् । खनालले प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् ।
भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताए ।
उनले आफू भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि उनले बताए ।
नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने पनि बताए । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भइ उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत खनालले बताए ।