काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो ।
यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।