दक्षिण एसियामै पहिलोपटक नेपालले सार्वजनिक गर्‍यो माटोको डिजिटल नक्सा-Sutra News

दक्षिण एसियामै पहिलोपटक नेपालले सार्वजनिक गर्‍यो माटोको डिजिटल नक्सा

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- दक्षिण एसियामै पहिलोपटक नेपालले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त डिजिटल नक्सा सार्वजनिक गरेका हुन् ।



नक्सा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपालतर्फको यात्रामा सहयोग पुग्ने बताए ।

‘कृषिमा ६५ प्रतिशत जनसंख्या आबद्ध रहेका छन् । तर अर्थतन्त्रमा २७/२८ प्रतिशत मात्रै रहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘कृषिलाई आधुनिकीकरण गर्नुपर्छ । अहिलेको आबद्ध संख्या घटाउनुपर्छ ।’

ओलीले संगठित रूपमा उत्पादन गरेमात्रै विदेशमा निर्यात गर्न सकिने बताए । ‘हामी उपभोक्ता भयौँ, उत्पादक भएनौँ । बाहिरबाट ल्याएर कमिसन खाई बेच्नु व्यापार होइन । आफूले उत्पादन गरेको सामग्री बिक्री गर्नु व्यापार हो’, उनले भने ।

कृषि तथा पशुपन्छी मन्त्री पद्मा कुमारी अर्यालले सार्क क्षेत्रमा पहिलोपटक नेपालमा डिजिटल नक्सा सार्वजनिक गरेको बताइन् । नेपालमा कृषिको विकासका लागि नक्साले सहयोग पुग्ने उनको भनाइ छ ।

‘माटो परीक्षणको लागि माटो बोकेर हिँड्नुपर्दैन’, मन्त्री अर्यालले, ‘घरमै बसेर आफ्नो माटो परीक्षण गर्न सकिन्छ ।’

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले कृषिको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताए । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी आर्थिक सहयोगमा डिजिटल नक्सा निर्माण गरेको हो ।

यो नक्सा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुने गरी ५६ जिल्लाबाट कुल २३ हजार २ सय ७३ वटा माटोको नमूनाहरूको परीक्षण गरी विश्लेषणको आधारमा तयार गरिएको छ ।

माटाको डिजिटल नक्सा भनेको माटोमा रहेका विभिन्न तत्व वा गुणहरू देखाउनका लागि जीपीएसका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा हो ।

माटोमा रहेका तत्वहरू र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभाव समेतलाई गणितीय तथा तथ्यांकीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएका माटोको नतिजाको आधारमा तयार पारिने यस्ता नक्साले माटोसम्बन्धी विविध सूचना दिने गर्छन् ।

डिजिटल नक्साले बाली उत्पादकत्व बढनउन, माटोमा रहेको अम्लीयपना घटाउने तथा माटोमा प्रांगारिक पदार्थ बढाउने जस्ता काम गर्न सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट