काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड-माधव पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरुले प्रचण्ड-माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए ।
आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरु राख्नुभयो । हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा प¥यो त्यो प्रष्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’
जसपा नेताहरुले पटक-पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद् रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनु परेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् ।
वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु छन् । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौ ।’
सर्वोच्च आदालतले प्रतिनिधिसभाको पुन:स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा प्रचण्ड-माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।