प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव जीवित छः नेता गुरुङ-Sutra News

प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव जीवित छः नेता गुरुङ

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् ।पार्टीको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत् रहेको बताएका हुन् ।



संसद सुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘पुुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रुपमा यथावत रहेको छ । सदन सुरु भएपछि दलहरुकोबीचमा आपसी सहमती, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’

सर्वोच्च अदालतको फैसला अनुसार संसदको अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए । प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।

सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट