काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापना पछि सरकार झन बलियो भएको बताएका छन् ।
नेकपा ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् ।
प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे ।
उनले भने, ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुनस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताई नै सके उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’
प्रतिनिधिसभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे ।
उनले भने, ‘पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्र सम्मत छ कानून सम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नु भएको थियो तर पुनस्थापित भइदिदा खेरी अब हामी संसदमा फेरि फर्किएका छौं । स्थिति भनेको यो हो । पुनस्थापित गर्ने साथिहरुले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन । ’