काठमाडौं- वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा सुरुभएको छ ।
चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान सुरु गरिएको शङ्खमूल त्रिवेणीधाम आरती सेवा समूहले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता एवं सो क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद प्रकाशमान सिंहले नदी सभ्यता र धर्म, संस्कृतिको संरक्षणमा समुदाय लाग्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिका-३१ मा पर्ने शङ्खमूल त्रिवेणीधाम धार्मिक एवं पौराणिक हिसाबमा महत्वपूर्ण तीर्थस्थल भए पनि ओझेलमा परेकाले समूहले यसको प्रचारप्रसार एवं महत्व समुदायसम्म लैजान काम गर्ने अध्यक्ष मदनगोपाल धुँजु श्रेष्ठले जानकारी दिए ।
त्रिवेणीधाम संरक्षणका लागि आर्ट अफ लिभिङ, हनुमान आरती मण्डल, ओम शान्तिलगायत संस्थासँग समेत सहकार्य गरेर काम गरिएको समूहले जनाएको छ ।
साप्ताहिकरूपमा नियमित सफाइ र मासिकरूपमा शङ्खमूल त्रिवेणीधाममा नियमित आरती गरेर महत्वपूर्ण धार्मिकस्थलको संरक्षण गर्न लागिएको समूहका सहसंयोजक प्रेमबहादुर शाक्यले बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसी र वडा नं ३१ का अध्यक्ष नारायण भण्डारीलगायतको पनि सभागिता थियो ।
कार्यक्रममा जनप्रतिनिधिले सम्पदास्थलको संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।