काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वली पिँडुला देखाएकै भरमा सांसद बनेको भन्दै चरित्रहत्या गरेका छन् । पन्तले वलीलाई जोडेर बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा पन्तले वलीले पिडुँला देखाएर राष्ट्रियसभा सदस्य र नेकपाको केन्द्रीय सदस्य पाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर पन्तले भिडियोमा भनेका छन्, ‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’
यता वलीले भने पन्तको अभिव्यक्तिमाथि खेद प्रकट गरेकी छन् ।
वलीले भनेकी छन्, ‘तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरू को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’ वलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल थाहा आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्नः तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरूले को कसलाई पिडुंला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईंको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’