बहुविवाहका अभियुक्तलाई कैदको फैसला-Sutra News

बहुविवाहका अभियुक्तलाई कैदको फैसला

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

सप्तरी- बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ ।



जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनकी श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका-५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै विसं २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएका थिए ।

आरोपित सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फुलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई विसं २०७५ भदौ १५ गते पक्राउ गरेको थियो ।

सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते रु ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अर्का आरोपित फुलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उहाँको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । सामाजिक परम्पराअनुसार विसं २०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट