काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताए ।
‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ओलीलाई हटाउने नेकपाले नै हो’, महतोले भने । उनले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको बताए ।
‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुपर्यो नि नभए पार्टी फोरेर हटाउनुपर्यो’, महतोले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ ।’
उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्तासहकार्य नहने बताए ।
‘दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’, महतोले भने, ‘या त भन्नुपर्यो माधव नेपाल पार्टी, प्रचण्ड-माधव पार्टी, तर मजाक बनाउनु भएन ।’