काठमाडौं- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ ।
सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा तीन–सदस्यीय वार्ता टोली गठन गरेको छ । ‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने ।
वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेको उनले बताए । अर्का सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन् ।
सरकारले गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।