महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित-Sutra News

महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

बिहिबार, २० फाल्गुन २०७७

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौं- महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ ।



वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी तय गरिएको छ । बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई महाशिवरात्रिमा भक्तजनलाई स्नान गर्न स्वच्छ पानी व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ । जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन् ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसहित चक्रपथ विभिन्न खण्ड, महत्वपूर्ण सांस्कृतिकस्थलमा पनि सफाइ अभियान शुरू भएको छ ।

वाग्मतीको पनि गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाटलगायत स्थानमा पनि छुट्टाछुट्टै सफाइ अभियान चलिरहेको छ ।

वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ । यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट