प्रचण्ड-नेपाल समूहले संघीय संसदलाई लेखेको पत्रमा के छ ?-Sutra News

प्रचण्ड-नेपाल समूहले संघीय संसदलाई लेखेको पत्रमा के छ ?

बिहिबार, २० फाल्गुन २०७७

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौंं- नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पार्टीबाट निष्कासित भइसकेकाले उनीमार्फत भएका कुनै पनि कामलाई मान्यता नदिन आग्रह गरेको छ ।



बिहीबार दाहालले संघीय संसदका महासचिवलाई पत्र लेख्दै पार्टीबाट निष्कासित भइसकेका व्यक्तिबाट कुनै पनि हैसियतमा हुने निर्णयलाई स्वीकार गर्न नसकिने जानकारी गराएको हो ।

प्रतिनिसभा पुनःस्थापना भएपछि शुक्रबार ओलीले नेकपा संसदीय दलको नेताको हैसियतले प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई उक्त पदमा मनोनित गरेका थिए । ओलीले पठाएको पत्रलाई सचिवालयले लगत्तै मान्यता दिँदै नेकपाको प्रमुख सचेतकबाट गुरुङको नाम हटाएको छ ।

त्यसप्रति आपत्ति जनाउँदै दाहाल-नेपाल पक्षले माघ १९ गते नै अनुशासनको कारबाही गरेर पार्टीको साधरण सदस्यसमेत नरहेका व्यक्तिबाट गरिएको कामलाई अनुमोदन नगर्न भनेको हो । २३ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्न लागेको सर्न्दभमा नेकपाका दुई पक्ष एकले अर्कालाई निषेध गर्ने रणनीतिका साथ अघि बढेका छन् ।

पत्रमा उल्लेख गरिएको छ, ‘मेरो अध्यक्षतामा २०७७ साल माघ १९ गते केन्द्रीय कमिटिका अत्याधिक बहुमत सदस्यहरुको सहभागितामा सम्पन्न केन्द्रीय कमिटिको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गर्नुभएकोले उहाँलाई पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । यसरी उहाँ पार्टीको सदस्य नै नरहनुभएकोले संसदीय दलको नेताको रुपमा रहनसक्ने कुरातर्फ पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकिर्षत गराउन चाहन्छु ।’

नेकपाको एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने शृंखला चलिरहेका बेला प्रचण्ड-नेपाल पक्षले बुधबार पनि संसदीय दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराईसहितका सांसदलाई कारबाही गरेको छ ।

सो पक्षको केन्द्रीय कमिटिको बैठकले संसदीय दलको उपनेताबाट नेम्वाङलाई तीन दिनभित्र राजीनामा दिन निर्देशन दिएको थियो भने गुरुङलाई हटाएर अध्यक्ष केपी ओलीले प्रमुख सचेतक नियुक्त गरेका विशाल भट्टराईलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको छ ।

बैठकले ओली पक्षमा लागेकी सचेतक शान्ता चौधरी, मन्त्रीसमेत रहेका सांसद प्रभु शाह र महेश बस्नेतलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

दाहाल नेपाल पक्षको बैठकले केन्द्रीय सदस्य सूर्य थापा र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा छ । महिनाका लागि पार्टीबाट नलिम्बन गर्ने निर्णय पनि गरेको थियो । दाहालको पत्र बुझाउन नेताहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङलगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट