काठमाडौं- कांग्रेसको बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक नयाँ सरकार गठनबारे कुनै निर्णय नगरी टुंगिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा बनाउन सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए ।
बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना गरिसकेपछि आइतबार सुरु हुन लागेको संसद अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको तर निर्णयमा नपुगिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले भने, ‘पार्टीले अहिले संयमतापूर्ण ढंगले एकीकृत रुपमा संविधान, लोकतन्त्र र जनताको दूरगामी भविस्य हेरेर निर्णय लिने निष्कर्ष निकालेको छ । बृहत्तर रुपमा संविधान, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने विषयमा छलफल भएको छ ।’