काठमाडौं- सरकार र विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएर शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्ती केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने तयारीकै बीच सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् ।
काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीकाअनुसार उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासतमुक्त गरेको हो । ९ दिनदेखि उनलाई आगजनी तथा संगठित अपराधको मुद्दामा काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई श्रीमतीको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ ।
दुई वर्षअघि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएयता सो समूहका डेढ सय नेता कार्यकर्ता थुनामा छन् । तीमध्ये धेरैजसो आजै छाड्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।