काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क गरेका छन् ।
सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई शुक्रबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले समाजमा चार थरी मानिस पाइने बताए ।
‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्,’ उनले भने, ‘तेस्रो थरी मानिस गुन–गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन् ।’
यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् भन्ने उदाहरण आज आफूहरुले दिएको उनले बताए ।