प्रचण्ड जस्तै विप्लव पनि आखिर आइपुगे ‘संसदीय भास’ मा-Sutra News

प्रचण्ड जस्तै विप्लव पनि आखिर आइपुगे ‘संसदीय भास’ मा

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओली शुक्रबार राष्ट्रियसभा गृहमा झल्किए । प्रसंग थियो, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम । भूमिगत जीवन त्यागेर त्यहीँ आएका थिए, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव पनि ।



शुक्रबारको उक्त कार्यक्रममा ओलीले केही कुरा बोले । त्यसमध्य उनले बोलेको कुरा थियो,‘यो संसदीय राजनीतिमा पौडी खेल्न विप्लवलाई आउने छ ।’

त्यसो भए के ओलीले भनेझैँ विप्लव अब संसदीय पोखरीमा पौडी खेल्ने तयारी गर्दैछन ?

एकपटक विगत सम्झिने प्रयास गरौँ । चाहे पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन वा विप्लव । यी दुवैले कुनै बेला संसदीय ब्यवस्थालाई पहिलो नम्बरको शत्रू करार गर्दै आएका थिए । तर प्रचण्ड यही ब्यवस्थाको बलमा प्रधानमन्त्री पनि भए ।

अब विप्लवको बाटो कस्तो हुनेछ केही ठेगान छैन । ओलीले संकेत गरेझैं विप्लवले अब संसदीय ब्यवस्थाभित्रै आफ्नो राजनीतिक भविष्य देखेका हुन सक्छन् । यसका लागि ओलीसँगै उनले नै भन्दै आएको ‘संसदीय आहाल’ मा पौडी खेल्न सिक्नेछन् ।

biplab.jpg

चन्दले आफ्ना राजनीतिक गुरु प्रचण्डले जस्तै संसद भनेको ‘दलालहरुको अखाडा’ बताउँथे । उनले भूमिगत हुदै लेखेको महापतन किताबमा संसदीय राजनीतिक प्रणालीमाथि धारे हात लगाएका छन् ।

पटक-पटक विष वमन गरेका छन् । आफ्नो पूर्व पार्टी माओवादी र अर्को कम्युनिष्ट पार्टी एमालेलाई संशोधनवादी भन्दै सत्तोसराप गरेका छन् । तर विधिको बिडम्बना,प्रचण्ड र ओली एक भए,पार्टी पनि एक भयो । संसदीय शक्तिको अगुवाई गर्ने ओलीको पार्टीसँग मिल्नुलाई उनले प्रचण्डको महापतनको संज्ञा दिएका थिए ।

प्रचण्डमात्र हैन, माओवादीका आफ्ना पूर्व नेता बाबुराम भट्टराई पनि संसदीय राजनीतिमा भासिएको भन्दै आजभन्दा आठ बर्ष अघि बागी भएका थिए, विप्लव । संसदीय ब्यवस्था भत्काउने, दलाल पूँजीवाद विदा गर्ने, एकीकृत क्रान्ति गर्ने वैज्ञानिक समाजवाद ल्याउने । यस्तै यस्तै कम्युनिस्ट जार्गनका सपना बाँड्ने अभियानमा हिडिँसकेका थिए, विप्लव ।

केही दर्जन नेता कार्यकर्ताको रिहाइ नै अहिलेका लागि विप्लवको उपलब्धि भएको छ । उनले हिँडन चाहेको विगतको बाङ्गो बाटो उनले त्यागेका छन । के ओलीले विप्लवलाई संसदीय राजनीतिमा अब ताते ताते गराउने छन् ? यदि यसो हो भने भन्नैपर्छ,विप्लवलाई संसदीय राजनीतिमा स्वागत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट