अविश्वास प्रस्तावमा कांग्रेस अझै अलमल-Sutra News

अविश्वास प्रस्तावमा कांग्रेस अझै अलमल

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

काठमाडौं- अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको प्रमुख प्रतिपक्ष कांग्रेसले लिने निर्णयमा सबैको ध्यान केन्द्रित छ । २३ फागुनमा बोलाइएको पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने कुरामा कांग्रेसले अझै मेसो पाउन सकेको छैन ।



यही विषयमा निचोडमा पुग्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठक बोलाएको थियो । २९ जना सांसदहरूले आआफ्नो तर्क दिए पनि कांग्रेस कुनै ठोस निर्णयमा पुग्न सकेन ।

बैठकमा बोल्ने अधिकाशं सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता हुने अविश्वास प्रस्तावको विषयमा अहिले नै निर्णय गर्न हतारो हुने सुझाव व्यक्त गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सूत्र न्युजसँग भने, ‘अविश्वास प्रस्तावका सम्बन्धमा हामीले उचित समयमा उचित निर्णय लिनेछौं, आज नै ठोस निर्णयमा पुग्न अलिक हतारो हुने देखियो ।’

अविश्वास प्रस्ताव सम्बन्धी कुनै निर्णय नगरे पनि बैठकले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई संविधानवादको जीत भएको बताएको छ ।

गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्घ देशभरी ब्यापक विरोध प्रदर्शन गरेको कांग्रेस सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित संसदमा नेकपाभित्रको ओली खेमा वा प्रचण्ड–माधव खेमा कसलाई समर्थन गर्ने भन्ने अन्योलमा छ । २० फागुनमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि कुन बाटो लिने भन्ने निर्णय लिन सकेको थिएन ।

अहिले कांग्रेस निर्णायक स्थितीमा छ । प्रचण्ड–माधव खेमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दिन तयार छ । तर कांग्रेसभित्र यस बिषयलाई लिएर एकीकृत दृष्टिकोण बन्न सकेको छैन ।

कांग्रेसभित्रको सभापति देउवा पक्षले अवसर आए सरकारको नेतृत्व लिन तयार हुनुपर्ने बताउँदै आएको छ । तर इतर पक्ष भने सरकारमा जान नहुने पक्षमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट