काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ । सभामुख सापकोटाले प्रचण्ड-माधव पक्षलाई दलको मान्यता दिनसक्ने गरी भूमिका खेल्न सक्ने आँकलन ओली पक्षको छ ।
शनिवार राती ओली पक्षको नेकपा संसदीय दलका पदाधिकारीसहितका नेताहरूबीच भएको छलफलमा यस्तो आँकलन गरिएको हो ।
स्रोतका अनुसार, यदि सभामुखले प्रचण्डलाई दलको नेताको रूपमा संसदमा बोल्न दिए त्यसको प्रतिवाद गर्ने तयारीमा उनीहरू छन् ।
यो स्थितीमा सत्तापक्षकै सांसदले प्रतिनिधिसभाको बैठक ठप्प पार्ने प्रयास गर्नेछन् । यस्तो स्थितीमा प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै विभाजित दुइपक्षबीच भिडन्त हुन सक्ने छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अन्य सबै कार्यसूची हटाएर शोक प्रस्तावमात्र पारित गरिने भएकोले मुठभेडको स्थिती आउने छैन । तर नेकपाको विवाद ब्यवस्थापन नभइसकेकोले प्रतिनिधिसभाको आगामी बैठकमा दुईपक्षबीचको विवाद छताछुल्ल हुने नीश्चित छ ।
ओली समूहले सभामुख सापकोटालाई सार्वजनिक रुपमै पटक पटक ‘प्रचण्डको गुरिल्ला’ भन्दै आएको छ ।