काठमाडौं- नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको सन्दर्भमा अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको बताएका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।
सो क्रममा प्रचण्डले आफूहरूले अपेक्षा गरेभन्दा फरक फैसला आएको प्रतिक्रिया दिए । आइतबार सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।
प्रचण्डले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’
नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिष्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला आएको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।