काठमाडौं- नेकपा (ओली समूह)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको छ । उनले अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका हुन् ।
आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा ऋषि कट्टेल नेतृत्वमा नेकपा दर्ता रहेकै अवस्थामा सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने फैसला सुनाएको छ । त्यससँगै सर्वोच्चले साविकको नेकपा एमाले र साविकको नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामै रहेको पनि बताएको छ ।
मन्त्री ज्ञवालीले एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको पनि बताए । ‘पार्टीहरूलाई एकीकरण पूर्वको अवस्थामा पु-याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, उनले भने ।
‘हामीले जुन आधारमा एकता गरेका थियौं । जुन विचार, संरचनाका आधारमा एकता गरिएको थियो, त्यसले गन्तव्यमा लगेन । अब गन्तव्यमा पुग्ने आधारसहितको ठोस एकताको लागि ढोका खुलेको छ’, ज्ञवालीले भने ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिष्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला आएको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।