काठमाडौं- नेकपा (प्रचण्ड–माधव समूह)का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्याय भएको प्रतिक्रिया दिएका छन् ।
संसदीय दलको नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा सिंहदरबारमा फैसलाबारे प्रतिक्रिया दिँदै नेता गुरुङले सञ्चारकर्मीसँग ‘बेठीक टाइम’मा न्याय दिने काम भएको बताएका हुन् ।
गुरुङले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’लाई अझै मद्दत पुग्न सक्ने बताए । नेता गुरुङले फैसलासँंगै साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।
‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाइममा दिनुपर्थ्यो । बेठीक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला’ उनले भने ।