काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड लगायतका नेताहरूले गल्ती महसुस गरेर पार्टीमा आए स्वागत गर्ने बताएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिँदै उनले पार्टीमा स्वागत गर्न तयार रहे पनि उनीहरुसँग पार्टी एकता भने कुनै पनि हालतमा नगर्ने बताए ।
अदालतको फैसलाले दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा सर्वाेच्चले कट्टेल नेतृत्वको पार्टीको पक्षमा फैसला दिएको छ ।
‘म उनीहरूको पार्टीमा जाने वा एकता गर्ने कुरा नै छैन । हामीले ओली–प्रचण्डलाई प्रतिक्रियावादमा पतन भए भनेर निष्कर्ष निकालेका छौं, उनले भने, ‘अब प्रचण्डहरू हाम्रो पार्टीमा आउँछन् भने अब नयाँ पार्टी सदस्यताको फारम भरेर आउनुपर्छ ।’ अध्यक्ष कट्टेलले भने ।