काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच पार्टी आधिकारिकता सन्दर्भमा निर्वाचन आयोगमा कानुनी लडाइँ चलिरहेको अवस्थामा सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनायो ।
कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोगविरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
अदालतले नेपाल कम्युनिष्ट पार्टी कट्टेलको नाममा भएको फैसला गर्र्दै ओली–प्रचण्डको नेतृत्वमा रहेको नेकपालाई खारेज नै गरिदियो । यससँगै नेकपालाई एमाले र माओवादी केन्द्रको रुपमा पुरानै अवस्थामा फर्काइदियो ।
सर्वोच्चको फैसलासँगै मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । फैसलाले सत्तारुढ नेकपालाई ठूलो राजनीतिक झड्का दिएको छ । निर्वाचन आयोगमा मोरङकी सन्ध्या तिवारीको नााममा यसअघि नै नेकपा एमाले दर्ता भैसकको छ । उनले २०७७ असारमा ‘सूर्य’ चुनाव चिन्ह राखेर दर्ता गरेकी थिइन् ।
त्यस्तै २०७५ जेठ ३ भन्दा अघि प्रचण्डले नेतृत्व गर्दै आएको माओवादी केन्द्र पनि गोपाल किराँतीको नाममा आयोगमा दर्ता छ । उनले २०७६ असोजमा गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह राखेर पार्टी दर्ता गरेका थिए । अदालतको यो फैसलाले गम्भीर राजनीतिक संकट र तरंग नै उत्पन्न भएको छ ।
सर्वोच्चको फैसलापछि तिवारी र किराँतीका पार्टीलाई निर्वाचन आयोगले मंगलबार पत्र पठाउन लागेको छ । सर्वोच्चले ती नाममा पुरानै पार्टीलाई ब्युँताइदिएको पत्र प्राप्त भएकोले त्यसबारे आयोगले किराँती र तिवारीलाई जानकारी दिँदै नाम र चुनाव चिन्ह परिवर्तन गर्नेबारे जानकारी दिने तयारी गरेको बताइएको छ ।
असारमा दर्ता भएको एमालेका एक नेताका अनुसार अध्यक्ष तिवारी अदालतको यो फैसला आउँदा भारतमा उपचाररत छिन् ।
अदालतको फैसलासँगै हाल निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नाममा दर्ता रहेका दुई पार्टी खारेज हुने निश्चित छ ।
अब उक्त पार्टीले लिने नयाँ रणनीतिबारे छलफल भैरहेको एक नेताले जानकारी दिए ।