काठमाडौं– साविकको नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीले सर्वाेच्च अदालतको फैसलाले आफूहरुलाई कुनै पनि संकट नआएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ महोत्तरीले बर्दिवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै झाँक्रीले सो कुरा बताएकी हुन् ।
‘हामी केही समयदेखि सडकमा थियौं । हामीलाई त के संकट ?, संकट त उनीहरूलाई पर्नेछ जो अहिले सत्तामा रजगज गरिरहेका छन् ।’ नेतृ झाँक्रिले भनिन् ।
निवेदकले मागदाबी नै नगरेको विषयमा सर्वोच्च अदालत प्रवेश गरेको झाँक्रीले बताइन् । ‘पार्टीको आन्तरिक जीवनमा सर्वाेच्च प्रवेश गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न फैसलाले उब्जाएको छ,’ उनले भनिन्, ‘हामीहरू पुनरावलोकनमा जान्छौं ।’
‘म जुन दलको सदस्य हुँ मेरो राजनीतिक असहमति मैले पार्टीभित्र राख्न पाउने कि नपाउने ?,’ झाँक्रीले सर्वाेच्चलाई प्रश्न गरिन्, ‘नेकपा नाम हामीले नपाउने निर्णयसम्म हुन सक्थ्यो होला तर राजनीतिक असहमति राखेर विद्रोह गरिरहेकै आधारमा मेरो पार्टी र चुनाव चिह्न नै खोस्नु ममाथि कुन न्याय भयो ?’ दुई महिनादेखि विद्रोह गरिरहेको पार्टीभित्र धकेल्ने गरी भएको निर्णय जनता र व्यवस्थामाथि नै आघात पुग्ने खालको निर्णय भएकाले यस फैसलाको समीक्षा हुनुपर्ने उनले बताइन् ।