बन्न सक्ला कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सत्ता गठबन्धन ?-Sutra News

बन्न सक्ला कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सत्ता गठबन्धन ?

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- जनता समाजवादी पार्टीले मंगलवार संसदीय दलको बैठक बोलायो । राजनीतिमा आएको पछिल्लो परिवर्तन र अब संसदमा हुने गठबन्धनको राजनीतिमा चाल्नुपर्ने कदममा केन्द्रित भएर जसपाले बैठक बोलाएको बुझ्न कठिन छैन ।



समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी गठन भएपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो । सर्वोच्चको आइतबारको फैसलाले नेकपालाई तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणअघिको अवस्थामा लगिदिएपछि अब कुन रूपको सरकार बन्छ भन्ने चासो सबैको छ ।

संसदमा रहेका दलहरुको गणितिय उपस्थिती फेरबदलमात्र भएको छैन, संसदको शक्ति सन्तुलनमा पनि फेरबदल भएको छ । पुनर्थापित भएको केपी ओली नेतृत्वको एमालेलाई सत्ताको चौघेरा बाहिर राखेर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को मिलेमतोमा सरकार बन्न सक्छ ।

संसदमा कांग्रेसका ६३ सांसद छन् । उपसभापति विजय गच्छदार र मोहम्मद आफताब आलम निलम्बित छन् । यी दुईजनाको संख्या घटाउने हो भने कांग्रेससँग ६१ सांसद छन् । पुनर्थापित माओवादी केन्द्रसँग ५३ सांसद छन् । यी मध्य अग्निप्रसाद सापकोटा सभामुख छन् । ५२ सांसदमध्य चारजना प्रधानमन्त्री ओलीतिर छन् ।

उनीहरू माओवादी केन्द्रमा फर्किने सम्भावना कम छ । यसरी हेर्दा माओवादी केन्द्रको सांसद संख्या ४८ हुन्छ । जसपामा ३४ सांसद छन् । यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बित भएकाले जसपासँग ३२ सांसद छन् ।

सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्छ । कांग्रेसको ६१,माओवादी केन्द्रको ४८ र जसपाको ३२ सांसदको गठजोड बन्न सक्यो भने यो संख्या १४१ पुग्छ । संख्यात्मक रूपमा हेर्दा कांग्रेस,माओवादी केन्द्र र जसपाको गठबन्धनले बहुमतको सरकार गठन हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट